मेक्सिकोमा काेराेना संक्रमितकाे संख्या एक लाख १३ हजार नाघ्याे
२५ जेठ, मेक्सिको । मध्य अमेरिकी मुलुक मेक्सिकोमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरसको महामारीबाट तीन हजार ६०० नयाँ संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । मेक्सिकोमा योसहित कूल संक्रमितको संख्या एक लाख १३ हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमणबाट मेक्सिकोमा मृत्यु हुनेको संख्या १३ हजार ५०० नाघेको छ ।
संक्रामक रोग निवारण केन्द्रका निर्देशक जोजे लुइज अलोमियाले अझै पनि एक हजार १८९ जनाको मृत्यु शंकास्पद रहेको र उनीहरुको स्वास्थ्य बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । मेक्सिकोमा एक हप्ताअघि मात्र करिब ९० हजार संक्रमित रहेका र करिब ९ हजारको ज्यान गएको थियो ।
तर पछिल्लो साता नयाँ संक्रमित भेटिने दरमा केही कमी आएको छ, तर संक्रमित व्यक्तिको मृत्यु हुने दरमा भने वृद्धि भएको छ । गत आइतबार एक साताको अवधिमा २ हजार ५०० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकामा यस साता करिब ४ हजारको ज्यान गएको देखिएको छ ।
प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार १३:१२