१८ पुष २०८१, बिहीबार | Fri Jan 3 2025

तनहुँका स्थानीय तहलाई तीन अर्ब ८० करोड बजेट विनियोजन

१७ जेठ, दमौली । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तनहुँ जिल्लालाई रु तीन अर्ब ८० करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सार्वजनिक गर्नुभएको बजेटमा तनहुँका लागि रु तीन अर्ब ८० करोड ७८ लाख विनियोजन भएको छ । दश स्थानीय तह रहेको तनहुँले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानवापत रकम प्राप्त गरेका छन् । तनहुँले आगामी वर्षका लागि रु १० करोड बढी बजेट प्राप्त गरेको छ । गत आर्थिक वर्षमा तनहुँ जिल्लाका स्थानीय तहले रु तीन अर्ब ७० करोड बजेट प्राप्त गरेको थियो ।

व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १८ करोड ६९ लाख, सशर्त अनुदानतर्फ रु ५२ करोड ७७ लाख, विशेष अनुदानतर्फ रु दुई करोड ५० लाख र समपूरक अनुदानतर्फ रु दुई करोड ५० लाख गरी कूल रु ७५ करोड ९६ लाख बजेट पाएको छ । शुक्लागण्डकी नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १४ करोड ६१ लाख र सशर्त अनुदानतर्फ र ३६ करोड १९ लाख गरी कूल रु ५० करोड ८० लाख बजेट पाएको छ ।

भानु नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १४ करोड २३ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड ६५ लाख, विशेष अनुदानतर्फ रु दुई करोड ५० लाख गरी कूल रु ५२ करोड १२ लाख, भीमाद नगरपालिकाले समानीकरण अनुदानतर्फ रु ११ करोड ५१ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड ६५ लाख, विशेष अनुदानतर्फ रु ५० लाख र सशर्त अनुदानतर्फ रु ५० लाख गरी कूल रु ३६ करोड १६ लाख बजेट पाएको छ ।

आँबुखैरेनी गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु नौ करोड २६ लाख, सशर्त अनुदानतर्फ रु १५ करोड ५९ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४४ लाख गरी कूल रु २६ करोड २९ लाख, ऋषिङ गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु नौ करोड ९८ लाख, सशर्त अनुदानतर्फ रु २० करोड ८५ लाख, विशेष अनुदानतर्फ रु एक करोड गरी कूल रु ३१ करोड ८३ लाख, घिरिङ गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु आठ करोड ६६ लाख, सशर्त अनुदानतर्फ रु १५ करोड सात लाख गरी कूल रु २३ करोड ७३ लाख बजेट पाएको छ ।

देवघाट गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु सात करोड ९७ लाख, सशर्त अनुदानतर्फ रु १७ करोड ५० लाख, विशेष अनुदानतर्फ रु ६४ लाख गरी कूल रु २६ करोड ११ लाख, म्याग्दे गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु नौ करोड ६५ लाख, सशर्त अनुदानतर्फ रु १५ करोड, विशेष अनुदानतर्फ रु ५० लाख गरी कूल रु २५ करोड १५ लाख, बन्दीपुर गाउँपालिकाले समानीकरण अनुदानतर्फ रु नौ करोड चार लाख, सशर्त अनुदानतर्फ रु १७ करोड चार लाख, विशेष अनुदानतर्फ रु एक करोड ८० लाख गरी कूल रु ३२ करोड ६३ लाख बजेट पाएको छ । वित्तीय समानीकरणअन्तर्गत प्राप्त बजेटबाट स्थानीय तहले परिषद्बाट योजना पारित गरी कार्यान्वयन गर्नुपर्छ भने सशर्त अनुदानअन्तर्गत प्राप्त बजेटले कर्मचारी र शिक्षकहरूको तलबभत्ता, सामाजिक सुरक्षाभत्ता र स्थानीय तहको प्रशासनिक खर्चमा कार्यान्वयन गर्नुपर्छ ।

कोरोना परीक्षण गर्न धमाधम स्वाब सङ्कलन

भारतका विभिन्न शहरबाट जिल्ला फर्किएकाहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन तीव्र पारिएको छ । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसेकाहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलनलाई तीव्र पारिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दमौली अस्पतालका तीन स्वास्थ्यकर्मीलाई स्वाब सङ्कलनका लागि पठाउने गरेको छ । प्रत्येक स्थानीय तहमा दमौली अस्पतालकै स्वास्थ्यकर्मी गएर स्वाब सङ्कलन गरेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । “सबै स्थानीय तहका स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गर्न जानेका छैनन्, दमौलीबाटै स्वास्थ्यकर्मी गएर स्वाब सङ्कलन गर्ने गरिएको छ”, अधिकारीले भन्नुभयो, “दमौलीबाट गएका स्वास्थ्यकर्मीले सम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मीलाई स्वाब सङ्कलन गर्ने तरिका पनि सिकाउँछन् ।”

उहाँका अनुसार आँबुखैरेनीमा त्यहीको स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गर्छन् भने शुक्लागण्डकी र बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मीलाई यसबारेमा जानकारी दिइएको छ । भारतबाट आएर व्यास नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका ५४ जनाको स्वाब सङ्कलन गरिएको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा रहेका एक महिला र ५३ पुरुष गरी ५४ को स्वाब सङ्कलन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

उक्त क्वारेन्टिनमा ७५ जना छन् । त्यस्तै व्यास नगरपालिका–४ स्थित मदरसा आधारभूत विद्यालयको क्वारेन्टिनमा १७ जना छन् । उनीहरू सबै भारतबाट आएका हुन् । जिल्लामा हालसम्म २६७ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकामा १८० जनाको रिपोर्ट नगेटिभ आएको छ । मङ्गलबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएका म्याग्दे गाउँपालिकाका २५, बन्दीपुर गाउँपालिकाका नौ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । देवघाट गाउँपालिकाका १४, शुक्लागण्डकी नगरपालिकाका ३९ र भीमाद नगरपालिकाका ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दश स्थानीय तहका क्वारेन्टिनमा आजसम्म ४१९ जना पुगेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार ११:४७