कोरोना र वन्दावन्दीले ल्याएको सामाजिक र मनोवैज्ञानिक असर
-भोजराज भट्ट
चिनको वुहानवाट शुरु भई बिश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्व नै वन्दावन्दीमा छ । यो भाइरसको हालसम्म कुनै खोप पत्ता नलागेकोले यसको असर कहिलेसम्म रहन्छ एकिन छैन । अर्कोतर्फ यो एड्स जस्तो निर्मुल हुनै सक्दैन कि भन्ने कोणबाट पनि विश्लेषण हुन थालेको छ । आजसम्म वल्र्ड मिटरको तथ्याङ्क अनुसार (मे २५,२०२०, ०९ः०४ जि.एम.टि.) विश्वमा ५५,१६,७१७ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्ये ३,४६,८४९ जनाको निधन भइसकेको छ भने २३,१०,१४३ जना निको भई सकेको अवस्था छ । उपचारार्थ २८,५९,६२५ मध्ये ५३,२०३ जना गम्भिर विरामी र वाँकी २८,०६,४२२ जना सामान्य छन् । यसको सवैभन्दा वढी प्रभाव संयुक्त राज्य अमेरिकामा र युरोपमा परेको छ । यस तथ्याङ्कलाई नियाल्दा विश्वव्यापी रुपमा संक्रमित मध्ये ६.२८ प्रतिशतको मृत्यु, ४१.८७ प्रतिशत पुर्ण रुपमा निको र ५१.८३ प्रतिशतको उपचार भइरहेको देखिन्छ । अर्कोतर्फ उपचार भइरहेका मध्ये १.८६ प्रतिशत गम्भिर अवस्था र वाँकी सामान्य अवस्थामा रहेको देखिन्छ ।
विश्वभरको तथ्याङ्क हेर्दा कोरोना संक्रमितमध्ये लगभग ९० प्रतिशत मानिसमा लक्षण नै नदेखिने वा लक्षण देखिए पनि सामान्य रुपमा नै ठिक भएको देखिन्छ । वाँकी १० प्रतिशत विरामी मध्ये पनि लगभग २ प्रतिशतको मात्र मृत्यु भएको देखिन्छ । उमेर समुहका आधारमा हेर्दा १७ वर्ष मुनीका ०.०२ प्रतिशत, १८ देखि ४४ वर्ष उमेर समुहका ३.९ प्रतिशत, ४५ देखि ६४ वर्ष उमेर समुहका २२.४ प्रतिशत, ६५ देखि ७४ उमेर समुहका २४.९ प्रतिशत र ७५ वर्ष माथिका ४८.७ प्रतिशतको मृत्यु भएको देखिन्छ । सिकिस्त विरामी र मृत्यु भएका मध्ये कि अति वृद्ध, कि त मुटु, सुगर, क्यान्सर, मृगौला, फोक्सो वा स्वास प्रस्वास सम्वन्धी कुनै न कुनै पुराना रोगले ग्रसित रहेको तथ्यले पुष्टि भएको छ । कोरोना संक्रमण देखिएका पुराना क्रोनिक विरामीहरुको अवस्थालाई हेर्दा मृत्युको कारण कोरोना संक्रमण मात्र हो भन्न सकिदैन । यसरी हेर्दा विशुद्ध कोरोनाको संक्रमणले नगन्य मात्र मानिसहरु मृत्यु भएको देखिन्छ । यसबाट मृत्यु वा सिकिस्त विरामी हुनुमा कुनै न कुनै अन्य कारण समेत निहित छ । त्यसैले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र भौतिक उमेर वढी भएका व्यक्तिहरुमा यसको जोखिम ज्यादा रहेको देखिन्छ ।
नेपालमा स्वास्थ्य मन्त्रालयको आजसम्मको तथ्याङ्क अनुसार जम्मा ७७२ जनामा संक्रमण पुष्टि भएको छ भने ति मध्ये ४ जनाको दुखद मृत्यु भएको छ । मृत्यु भएकाहरुमा ३ जनाको मृत्यु पश्चात मात्र संक्रमण पुष्टि भएको र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने निजको जण्डिस लगाएत अन्य रोग पनि रहेको भनिएको छ । वाँकी सवै संक्रमितमा कुनै असर देखिएको छैन । सबै सामान्य अवस्थामा छन् ।
हालसम्मका तथ्यहरुलाई केलाएर हेर्दा कोरोना संक्रमण हुँदैमा सवै मानिस आत्तिनु पर्ने देखिदैन । पुराना रोगले ग्रसित, अति बृद्ध र शारिरिक दुर्वलता भएका मानिसलाई यसको संक्रमणबाट जोगाउन सकियो भने अरुले आत्तिनु पर्ने अवस्था देखिंदैन । प्राणिहरुमा मृत्यु अवश्यंभावी छ । जतिसुकै सुरक्षा अपनाए पनि मानिसले मृत्युलाई जित्न सक्दैन । जति अप्रिय भए पनि मृत्यु अकाट्य छ । तर पनि मृत्युको भय सवै प्राणीलाई हुन्छ । मानिस बाच्नेँ अभिलासाको भोको भए पनि अन्तिम सत्य मृत्यु नै हुन्छ । त्यसैले मृत्युमा कुनै न कुनै कारण निहित हुन्छ । अहिले मानवजातीका लागि कोरोना भाइरस एउटा कारक बनेर आएको छ । यो भाइरससँग सधैं डराउनु मानव जीवनको लागि समेत चुनौतीपूर्ण छ । तसर्थ भाइरसका सम्पूर्ण असरहरुलाई गहन रुपमा विश्लेषण गरी मानिसहरुमा प्रतिरोधी क्षमतामा वृद्धि गराई भाइरसलाई जीवन प्रतिकुल हुनबाट जोगाउनु उत्तम विकल्प हुन सक्छ ।
कोरोना भाइरसको अहिलेसम्म कुनै औषधी वा कुनै खोपको आविष्कार समेत नभएको अवस्थामा भाइरस कहिले सम्म रहने निश्चित छैन । तैपनि रोग प्रतिरोधात्मक क्षमता भएमा आफ्नै शरिरको एन्टबडीले भाइरसलाई दमन गर्न सक्ने तथ्यले पुष्टि गरेको छ । अतः हामीले अब भाइरससँग लड्ने हो, कायरता प्रदर्शन गर्ने होइन् । अब यस सम्बन्धी विज्ञहरुले पनि यो कुरा जनमानसमा प्रष्ट पार्न जरुरी छ ।
हाम्रो देशमा वाहिरवाट आउने मानिसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने गरी वन्दावन्दी नभएको र विगत २ महिनादेखि वन्दावन्दी हुँदा पनि संक्रमणको ग्राफ बढ्दै गएको छ । परीक्षणको दायरा कम भएका कारण संक्रमण कम देखिए तापनि यो भुसको आगो झैं भित्रभित्र फैलदै गएको आँकलन गर्न थालिएको छ । यस्तो अवस्थामा वन्दावन्दी मात्र लम्व्याई रहने हो भने कोरोना वाहेकका अन्य आर्थिक, सामाजिक र मनोवैज्ञानिक कारणले धेरै मानिसको मृत्यु हुन सक्ने सम्भावना रहन्छ । जनचेतना फैलाउने, सजग गराउने, प्रशिक्षण वा सान्त्वना दिने कार्यमा एकदम कम ध्यान दिएको पाईन्छ । स्वास्थ्यकर्मीहरु हतास भएको र वन्दावन्दी (लक डाउन) खोल्नै नहुने भनी सरकारलाई सिफारिस गरी रहने र सरकारले यहि नीति मात्र अवलम्वन गरिरहदा आम मानिसमा परेको मनोवैज्ञानिक असर, सामाजिक गतिविधि ठप्प हुँदा व्यक्तिका व्यवहारका पिर र चिन्ताले परेको असर तथा अन्य सामान्य किसिमका विरामीको उपचार नै ठप्प भएका कारण सामान्य रोग नै हाल जटिल हुदै जादा भएका असरहरुलाई गहिरो रुपमा बेलैमा सोच्नेै पर्ने हुन्छ ।
सर्वसाधारणलाई भन्दा पनि स्वास्थ्यकर्मीहरुलाई मनोवैज्ञानिक असर परेको सहजै अनुमान गर्न सकिन्छ । अन्य रोग लागेको मानिसको उपचार हुनै नसकेको तितोसत्य हाम्रो सामु छ । कोरोना वाहेक अरु रोगले जती मरे पनि हुन्छ भन्न त कसरी मिल्ला ? बन्दाबन्दीले आर्थिक गतिविधिलाई मात्र असर पर्ने हो केहि समय आर्थिक गतिविधि नहुदैमा केहि हुन्न भन्ने अभिव्यक्ति सरकारबाट आएको छ । मनोवैज्ञानिक रुपमा पर्ने असरले सारा स्वास्थ्य कमजोर हुन्छ र त्यसवाट झन बढि मृत्यु हुन सक्छ भन्ने तर्फ किन ध्यान गएको छैन ? त्यसमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मी नै मनोवैज्ञानिक त्रासमा भए पछि संक्रमितको उपचार समेत प्रभावकारी कसरी हुन सक्छ ? आमसंचारदेखि सारा समाजिक सञ्जालहरु समेतले नकारात्मक प्रचार गर्दा आम मानिसमा अत्यन्त मनोवैज्ञानिक असर परिरहेको छ । वन्दावन्दीले घरमा सीमित भएर बस्नु, मनमा अन्य कुनै कुरा नआउनु, बारम्वार नकारात्मक कुरा सुन्नुबाट मानिसमा नकारात्मक असर परिरहेकोतर्फ राज्यको ध्यान पुग्न सकेको छैन । हामी हाम्रो रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने खानपिन, व्यायम तथा सकारात्मक सोच राख्ने हो भने कोरोना भाइरसले केहि गर्नै सक्दैन । यो शक्तिशाली हुँदै होइन भन्ने कुरा तथ्यलेनै पुष्टि गरे पनि सारा मानिसलाई किन आतंकित वनाईएको हो ? रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको मानिसको हकमा मात्र यो भाइरसले बढी क्षती पु¥याउने भएकाले सर्वसाधारणलाई सही सुचना दिने र मनोवैज्ञानिक रुपमा त्रसित हुनै नदिने तर्फ सोच्न सकिएन भने यो भन्दा ठूलो भयावह अरु रोगले हुने निश्चित छ ।
संक्रमित बिरामी सिकिस्त हुनु र मृत्यु हुनुमा अन्य रोगको अलवा गलत खानपान र रहनसहनले पनि असर गरेको देखिन्छ । अहिलेसम्मको तथ्याङ्कको आधारमा हेर्दा धुम्रपान मध्यपान, बढी चिसो, बढी चिल्लो माछा मासु जस्ता खानेकुराले बढी असर गरेको तथ्यहरु वाहिर आएको छ । त्यस्तै ए. सि., फ्रिज, लगायत टेक्नोलोजीको बढि प्रयोग गर्ने र प्रकृतिक वातावरणभन्दा कृतिम वातावरणमा हुर्केका विकसित राष्ट्रहरुमा मृत्यु दर वढि देखिएको छ । सामान्य शारिरिक श्रम गर्ने क्षेत्र र वर्गका मानिसमा संक्रमण देखिए पनि यसको असर कम देखिएको छ । उनीहरु सामान्य उपचारबाटै ठिक भैरहेको पाइन्छ । नेपालकै सन्दर्भमा पनि हाल सम्म संक्रमित व्याक्तिमा प्राय सबैमा कुनै लक्षण समेत छैन । बिरामी नै नभएको मानिसलाई परिक्षणबाट मात्र संक्रमण देखिए पनि आत्तिनु पर्ने अवस्था नै छैन । मृत्यु भएकाहरु पनि कोरोना संक्रमण देखिए पनि मृत्युको कारण कोरोना मात्र छैन । यसवाट पाठ सिक्दै उच्च सतर्कताका साथ मानिसका दैनिक गतिविधिलाई क्रमिक रुपमा सुचारु गराउनुको विकल्प छैन ।
नेपालमा परिक्षण नै नभई कोरोना संक्रमित भैँ ठिक भएका मानिसको संख्या व्यापक छ । आर.डि.टि. विधिवाट गरिएको परिक्षणमा पोजिटिभ देखिनु र सोही व्याक्तिको पि.सि.आर. विधिमा परिक्षण गर्दा नेगेटिभ देखिुनु कुनै वेला कोरोना संक्रमण थियो तर हाल ठिक भै सकेको अवस्था हो भनी स्वयम् चिकित्सकहरुले बताई रहेका छन् । त्यस्तो संक्रमण धेरै व्याक्तिमा देखिएको तथ्याङ्क नै सार्वजनिक भएको छ । तर ति व्याक्तिहरु कुनै बिरामी भएका छैनन् । यसवाट के पुष्टि हुन्छ भने हाम्रो मौलिक परम्परागत खानपान र जीवनशैलीले साथ दिएको सहजै अनुमान गर्न सकिन्छ ।
अर्कोतर्फ हिन्दु विधिको मृत्यु संस्कार पनि वैज्ञानिक छ । शव जलाउने र मलामी जाने सबैले अनिवार्य नुहाई धुवाई गर्ने, जथाभावी नखाने जस्ता विशिष्ट परम्परा छ । सरुवा रोग लागेर मानिसको मृत्यु भएको अवस्थामा विरामीको स्याहार गर्ने नजिकका आफन्त र परिवारजनलाई अरुको सम्पर्कवाट टाढा अर्थात छुन बोल्न समेत नहुने संस्कार छ । १३ दिनसम्म क्रिया वस्ने यी संस्कारहरु यस्तै संक्रामक रोगवाट बच्ने उपाय स्वरुप विकसित भएको सहजै अनुमान गर्न सकिन्छ । तर विडम्वना गुल्मीका एकजना जण्डिस समेत भएका शिक्षकको कोरोना संक्रमण पनि देखियो र मृत्यु पनि भयो तर हाम्रो हिन्दु परम्परा अनुसार शव जलाउन वा आफ्नो विधि अनुसार दाहसंस्कार गर्न समेत दिइएन । यो सरासर मृतआत्माप्रतिको अपमान हो । यसले गर्दा एउटा उमेर समुहका मानिसमा झन ठूलो मनोवैज्ञानिक असर परेको छ । त्यसतर्फ सरोकारवालाको तत्काल ध्यान जान जरुरी छ ।
उचित सुरक्षा अपनाएर दाह संस्कार गर्दा कोरोना सरिहाल्ने र अरुको पनि मृत्यु भईहाल्ने भन्ने जस्तो बनाउनुमा कतै अन्य संस्कार र संस्कृतिका मानिसले खेल खेलेका त होईनन् ? विदेशी स्वास्थ्य संस्थाहरुको दवावमा सरकार चल्न वाध्य भएको त होइन ? हाम्रो संस्कार अनुसार दाहसंस्कार पछि १३ दिन पुरै कोरा वारेर क्रिया वस्ने भनेको नै क्वारेन्टिनमा बस्नु हो । यस्तै संक्रामक रोग अरुलाई नफैलियोस भनेर नै यो वैज्ञानिक प्रचलन चलेको हो । हाम्रो मौलिक संस्कृतिमा धेरै विधि र पद्धति छन् त्यस तर्फ रत्तिभर ध्यान नदिई विदेशीका लहैलहैमा मात्र लागेर समाज र विरामीलाई त्रसित वनाउने अनि मृतक माथी अपमान गर्ने कार्य भएको छ । यस्तो कार्य किमार्थ ठिक हुनै सक्दैन ।
जती औषधी, चिकित्सक, अस्पताल बने पनि नयाँ नयाँ रोगले मानव जीवनमा चुनौती दिइरहेको छ । यो त निरन्तर चल्ने शृंखला नै हो । यसरी हालसम्मको गतिविधि र नेपाल सन्दर्भलाई हेर्दा अब सधैं डराएर घरमा थुनेर सम्भव छैन । बन्दाबन्दी भनेको त निश्चित अवधीका लागि हो । अनिश्चितकालसम्म सम्भव नै छैन । यो कुरा सरकार तथा सबै जनताले पनि बुझ्न जरुरी छ । लामो समय मानिस काम विना घरमा बसिरहन सक्ने अवस्था सामाजिक, आर्थिक, मनोवैज्ञानिक तथा अन्य शारिरिक स्वास्थ्य कुनै पनि दृष्टिकोणबाट सम्भव हुँदैन ।
कोरोना संक्रमणवाट बचाउने नाममा त्यो भन्दा ठूलो संख्यामा अरु रोग र भोकले मर्न दिनु अवश्य ठीक हुदैन । तसर्थ अब सरकारले नेपालको मौलिक परम्परा र संस्कारमा भएका वैज्ञानिक पक्षहरुको अवलम्वन तथा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउन सक्ने खानपानमा अभिबृद्धि गराउने, असर गर्ने खानपानमा पूर्णरुपमा रोक लागाउने र दीर्घकालीन विधि अवलम्वन गरी मानिसका गतिविधिलाई पनि सुचारु गराउनुको विकल्प छैन । त्यसका लागि उच्च जोखिम क्षेत्र र उच्च जोखिम वर्गका मानिसलाई उच्च सतर्कता अपनाई नियन्त्रण र निगरानी गर्ने र अरु क्षेत्र र वर्गलाई विस्तारै आफ्नो गतिविधि खुकुलो बनाउने र मानिसको जीवनशैलीमा पनि परिवर्तन गर्न उत्प्रेरित गरी गराई उच्च मनोवलका साथ कोरोनासंग लड्ने प्रकृतिमैत्री क्षमता अभिवृद्धि गराउन जरुरी छ ।
(लेखक भट्ट अधिवक्ता हुनुहुन्छ ।)
प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १६:३६