१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

पाँच वर्षभित्र रोजगारीका लागि विदेश जान नपर्ने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरू हुँदै

८ जेठ, काठमाडाैँ । सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संघीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न र देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना गरी रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गरिने बताउनुभयो ।

त्यसैगरी सरकारले समान कामका लागि समान ज्यालाको नीति लागू गर्नाका साथै श्रमलाई सम्मानित र मर्यादित बनाउन श्रम कानूनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भएको छ । “श्रम अडिटअन्तर्गतको व्यवसायजन्य सुरक्षा निरीक्षण र श्रम निरीक्षणलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइदिनेछ, श्रम क्षेत्रमा आउने गुनासो र विवादलाई तत्काल समाधान गर्न अर्धन्यायिक निकाय स्थापना गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय तहमा रोजगार सूचना कक्ष स्थापना गरिने पनि जनाइएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०६:१३