१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

जापानका प्रधानमन्त्रीलार्इ नेपाल भ्रमणको निमन्त्रणा

८ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत उहाँले सो निमन्त्रणा गर्नुभएको हो ।

राजदूत ओगावाले हिजो साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गर्र्नुभएको थियो । उहाँ आफ्नो कार्यकाल सकेर मङ्गलबार स्वदेश फर्किंदै हुनुहुन्छ ।

भेटमा प्रधानमन्त्री ओलीले गएको ११ वर्षदेखि नेपाल र जापानबीचमा उच्चस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्दै यथासम्भव छिटो नेपाल भ्रमणका लागि जापानी प्रधानमन्त्रीलाई आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत ओगावा नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सफल हुनुभएकामा प्रधानमन्त्री ओलील बधाई ज्ञापनसमेत गर्नुभयो ।

उहाँले नेपालको एक हितैषी एवं प्रमुख दाता राष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक, शैक्षिकलगायत विकासका विभिन्न क्षेत्रमा जापानले विगत लामो समयदेखि विनाशर्त पु¥याउँदै आएको सहयोगप्रति जापानलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच हाल रहिआएको सुमधुर सम्बन्धले आगामी दिनमा निरन्तरता पाओस् भनी राजदूत ओगावामार्फत शुभकामनासमेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०६:०५