२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

चितवनमा बर्डफ्लुको त्रास कायमै, भान्सामा पाक्न छाड्यो कुखुराको मासु


–शिशिर सिंखडा
७ जेठ, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका ९ सुर्तनी स्थित एक कुखुरा खोरमा वर्डफ्लु रहेको पुष्टी भएपछि त्यस वरपरका कुखुरा नष्ट गरिए पनि बर्ड फ्लुको त्रास भने कायमै रहेको छ । सुर्तनीका राजन चौधरीको कुखुरा फर्ममा वर्डफ्लु लागेको यही वैशाख ३१ गते पुष्टी भएपछि गत शुक्रवार सो फर्मको वरिपरिका हाँस र लोकल कुखुरा मारिएको थियो । शनिवार सिमा निर्धारण समितिले वुझाएको प्रतिवेदन अनुसारका क्षेत्रमा रहेका फर्महरुको कुखुरा मारिएको थियो ।

बर्डफ्लु लागेका कुखुराहरु नष्ट गरिएपनि सो क्षेत्र लगायत चितवन तथा देशैभर बर्ड फ्लुको त्रास रहिरहेको छ । ६० प्रतिशत भन्दा बढी कुखुराजन्य उत्पादन चितवनमा उत्पादन हुने गरेको छ । देशका अधिकाँश जिल्लामा अण्डा, कुखुरा, चल्ला चितवनबाट जाने गर्दछ । चितवनमा नै बर्ड फ्लु भएपछि देशभर यसको त्रास कायम रहेको पाइएको छ । बर्ड फ्लुका कारण कुखुराजन्य उत्पादनको ब्यापार ह्वात्तै घटेको छ ।

भान्छामा पाक्न छाड्यो कुखुराको मासु
गत चैतको अन्तिम हप्ता पूर्वी चितवनको रत्ननगर १५ माधवपुरका अमृत लामिछानेको कुखुरा फर्ममा ठूलो संख्यामा कुखुरा मरेको समाचार सार्वजनिक भएपछि बर्ड फ्लुको आशंकामा धेरै उपभोक्ताको घरमा कुखुराको मासु पाकेन । बर्ड फ्लुका कारण मानिसको समेत मृत्यु हुन सक्ने भएकोले आशंकाको भरमा कुखुराजन्य उत्पादनको ब्यापार गत चैतदेखि घट्दै आएको थियो । गत हप्ता खैरहनीका राजन चौधरीको कुखुरा फर्मका कुखुरामा बर्ड फ्लु भएको पुष्टि भएपछि त चितवन लगायत देशैभर कुखुराजन्य मासुुुु, अण्डा लगायतको व्यापारमा धेरै नै कमि आएको छ ।

गत चैतदेखि कुखुरामा रोग लागेको थाहा पाएपछि चिवतनकी कविलासकी ज्ञानमाया गुरुङ्गले कुखुराको मासु हालसम्म पकाएकी छैनन् । झन् हिजोअस्ति बर्ड फ्लु लागेको समाचार सुनेपछि त मैले मात्र होइन गाउँलेले नै कुखुराको मासु खान छाडेका छन्, उनले भनिन् । उनी मात्र होइन, पूर्वी चितवनको कालिका वडा नं. ७ की लक्ष्मी तमाङले पनि बर्ड फ्लु भएको थाहा पाएपछि कुखुराको मासु खान छाडेको बताइन् । कुखुरामा बर्ड फ्लु देखा परेपछि मासु विक्री गर्ने पसलहरुमा कुखुराजन्य व्यापारमा निकै गिरावट आएको र खसीको मासु व्यापारमा वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।

सिमा निर्धारण प्रतिवेदन त्रुटीपुर्ण
सिमा निर्धारण समितिले वुझाएको प्रतिवेदनकै आधारमा मन्त्रीपरिषदले सो क्षेत्रको कुखुरा मार्न निर्देशन दिएको थियो । मन्त्रीस्तरीय निर्णय अनुसार गत शनिवार खैरहनी ६ स्थित शुशिल रिजालले संचालन गरेको सम्पदा पोल्ट्री फर्ममा रहेका करिव ४ हजार ४ सय लेयर्स कुखुरा नष्ट गरेको थियो । विहान एक्कासी र्यापिट रेस्पोन्स टिमले प्रहरीको सहयोगमा ताला तोडेर कुखुरा मार्न सुरु गरेको थियो । करिव ५ सय कुखुरा मारेपछि सिमा निर्धारणको विषयमा विवाद भएपछि दिनभर सो टिमले काम गर्न सकेको थिएन ।

सरकारी निर्णय अनुसारनै समितिले वुझाएको प्रतिवेदन अनुसारको क्षेत्रमा कुखुरा मार्न निर्देशन आएको हुँदा पछि व्यवसायीहरु सहमत भएपछि अपरान्ह रिजालको खोरका सवै लेयर्स कुखुरा नष्ट गरेको हो । भौतिक सरचनासहित रिजालले सो फर्ममा करिव १ करोडको लगानी गरेका थिए । सम्पदा पोल्ट्री फर्मका संचालक रिजालले सिमा निर्धारण गर्दा अन्याय गरेको भन्दै दुखेसो पोखे । विना जानकारी फर्मको ताला ताडेर कुखुरा मार्न सुरु गरे संचालक रिजालले भने – सिमा निर्धारण गर्दा कसैलाई जोगाउने कसैलाई मार्ने काम भएको छ,समितिबाट हामी पीडित भएका छौ । तर सरकारलेनै निर्णय गरेकाले त्यसविरुद्ध आफु नरहेको रिजालले वताए ।

समितिले वर्डफ्लु देखिएको फर्मलाई केन्द्रमा राखेर पुर्व तर्फ कुखुरा व्यवसायी परशुराम अधिकारीको पोल्ट्री फर्मसंग जोडिएको बाटो,उत्तर तर्फ पुर्वपश्चिम राजमार्ग,पश्चिम तर्फ नयाँ पर्सा जाने रोड र दक्षिण तर्फ पुरानो राजमार्गलाई आधार मानेर संक्रमित क्षेत्र तोकेको छ । समितिले त्यसरी चारकिल्ला तोकेपनि वर्डफ्लु देखिएको चौधरीको कुखुरा फर्मबाट परशुराम अधिकारीको पोल्ट्री फर्म करिव ५ सय मिटरको दुरीमा छ भने शुशिल रिजालको पोल्ट्री फर्म करिव एक किलो मिटरको दुरीमा पर्दछ । अधिकारीको ठुलो पोल्ट्री फर्म छ ।

पहिले संक्रमित फर्मलाई केन्द्र भागमा राखेर करिव ३ किलो मिटर सम्मको क्षेत्रमा रहेका कुखुराहरु नष्ट गर्ने गरिन्थ्यो । हामी कसैसंग दुश्मनी गर्न चाहदैनौ सम्पदा पोल्ट्री फर्मका संचालक रिजालले भने –वर्डफ्लु हावाबाट सर्ने रोग भएकाले सिमा निर्धारण त्रुटीपुर्ण छ । टोलीले निर्धारण गरेको संकटग्रस्त क्षेत्र पूर्वाग्रही भएको उनीहरुको भनाई छ । उनीहरूले नजिकै रहेका ठूला फर्म जोगाएर साना फर्मका कुखुरा मार्न थालेको भन्दै विरोध समेत जनाएका थिए ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर मुकुल उपाध्यायको नेतृत्वको टोलीले सिमा निर्धारण प्रतिवेदन तयार पारेको थियो । कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष भीमनारायण श्रेष्ठ पनि सिमा निर्धारण ठिक नभएको वताए । प्राविधिक टोलीले कसरी सिमा निर्धारण गर्यो त्यो थाहा भएन संघका अध्यक्ष श्रेष्ठले भने – वैज्ञानिक रुपमा सिमा निर्धारण कुनै पनि हालतमा मिलेको छैन् । चितवनमा पछिल्लो समय २०७० सालमा वर्डफ्लुले महामारीको रुप लिदा ठुलो नोक्सानी भएको थियो । गत चैतको अन्तिम हप्ता पनि पूर्वी चितवनको रत्ननगर १५ माधवपुरका अमृत लामिछानेको कुखुराको खोरमा ५ हजार १ सय मरेका थिए । तत्कालिन समयमा भने बर्ड फ्लु नलागेको भनी महाशाखाले भनेपनि संचालक लामिछानेले बर्ड फ्लुको आशंका गरेका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५, सोमबार १७:३५