१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रासायनिक मलमा कालोबजारी गर्ने धरौटीमा छुटे

३ जेठ, काठमाडाैँ । रासायनिक मल बिक्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ को हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

पक्राउ परेका फार्मका सञ्चालक गोरखा नगरपालिका– ८ का भक्तबहादुर श्रेष्ठलाई रु दुई लाख ५० हजारमा धरौटीमा रिहा गरिएको छ भने श्रेष्ठको फार्मका काम गर्ने सोही ठाउँका रेशम श्रेष्ठलाई रु १० हजार धरौटीमा रिहा गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले दिएको धरौटी आदेशमा तोकिएको रकम बुझाएपछि उनीहरु छुटेका प्रहरी नायब उपरीक्षक खतिवडाको भनाइ छ ।

धरौटीमा रिहा भएका दुवै जनालाई गत वैशाख २७ गते निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको थियोे । मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फर्मले किसानलाई प्रतिकिलो रु २५ देखि ३५ सम्मका दरले मल बिक्री गर्दै आएको थियो । सञ्चालक श्रेष्ठले फर्मको नामबाट मूल्यसूची टाँससमेत नगरी अत्यधिक दररेट कायम गरी अनाधिकृतरुपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट गएको विशेष प्रहरी टोलीले उनीहरुलाई गरेको थियो ।

श्रेष्ठ फर्ममा रहेको ५३ बोरा रासायनिक मल भण्डारलाई समेत सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । धरौटीमा रिहा भए पनि उनिहरुविरुद्ध कालोबजार ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार १८:४१