५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

पार्टी एकताको बर्षगाँठ मनाई रहँदा जननेता भण्डारीका विचारलाई आत्मसात गर्न सकौँः नेता रिमाल

-विष्णु रिमाल

२७ बर्षअघि जेठ ३ गते हामीले जननेता मदन भण्डारी र नेता जीवराज आश्रितलाई एकैसाथ, अकस्मात गुमाएका थियौं । कमरेड मदन भण्डारी हाम्रो समयको सबैभन्दा लोकप्रीय नेता हुनुहुन्थ्यो, जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो । जननेता मदन पार्टीको महासचिव मात्रै हैन नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तकार हुनुहुन्थ्यो।सार्वजनिक भएको साह्रै छोटो समयमा उहाँ देशभित्र समर्थक वा आलोचक हरेकले सम्मानका साथ लिईने र अन्तर्राष्ट्रीय जगतको चर्चित नाम हुनुहुन्थ्यो । उहाँको ‘सपना’संग सिङ्गो मुलुक आबद्ध थियो ।

आफूभन्दा झण्डै ३ दशक पाको उमेरका तत्कालिन पार्टी अध्यक्ष मनमोहन अधिकारीद्वारा सम्मान र भरोसा गरिएको युवा महासिचव एवं राजनेता हुनुहुन्थ्यो । विश्वमा कम्युनिष्ट पार्टी र कम्युनिष्ट सत्ताहरु एकपछि अर्को गरी ढाल्ने आँधिहुरी चलिरहेको बेला नेपालमा भने लोकतान्त्रिक विकल्प कम्युनिष्ट पार्टी नै हो भन्ने विचार र आँट दिने व्यक्तित्व जननेता भण्डारी हुनुहुन्थ्यो ।

उमेरका हिसावले वा आन्दोलनमा कति भोटो फटाएको छ भन्ने हिसावले कोही नेता हुने हैन । फाइल बढुवा गरे जस्तो या रोलक्रम तोकेर पनि नेतृत्व स्थापित हुँदैन । मदन भण्डारी, एक सहकर्मीको अवसानबाट मात्रै अर्काले ‘राजपाठ’ को जिम्मा पाउने ‘अस्वस्थ प्रकृतिका स्थापित मान्यता’को विकल्पको खोजीमा हुनुहुन्थ्यो ।

“सचेत पहलकमदीबाट जनतामा स्थापित हुने, सहकर्मीबीचको स्वस्थ प्रतिस्पर्धामा खारिएर श्रेष्ठता हासिल गर्ने र हिउँद–बर्खा–घामपानी झेलेका, विचारमा स्पष्ट श्रेष्ठता हासिल गर्ने कमरेडहरू मध्यबाटै सुयोग्य नेतृत्व स्थापित हुने” विधि उहाँले सुझाउनु भयो ।

योग्य नेताले आफ्नै कार्यकालमा सुयोग्य उत्तराधिकारीको विकल्प तयार गर्छ । जननेता भण्डारी यसमा स्पष्ट हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि पदलाई महत्व दिनु भएन र उहॉसंग मतामत गर्ने आफ्ना कमरेडहरुलाई “टीम अफ राईभल्स” ठान्नु भएन । बरू उहॉहरू मैं पार्टीको भावी नेता खोजी गर्न ‘सम्वाद–बहस– प्रतिवाद– र सहमती’को विधि आरम्भ गर्नुभयो ।

नामका अगाडि ‘लोकतान्त्रिक’ लेख्दैमा कुनैपनि दल बा व्यक्ति लोकतान्त्रिक हुने हैन, त्यो व्यवहारले पुष्टी गर्ने हो भन्ने तथ्य उहाँले स्थापित नै गर्नुभयो । आफ्नो नेतृत्वमा विकसित मौलिक सिद्धान्त– ‘जनताको बहुदलीय जनवाद’लाई पार्टी महाधिवेशनबाट पारित गर्नुअघि उहाँले “सयौं विचारहरु बीच प्रतिष्पर्धा हुन देऊ” भनेझैं विचारहरु बीच सार्वजनिक तर मर्यादित ढङ्गले बहस सञ्चालन गराउनु भयो ।

कम्युनिस्ट पार्टीलाई विचारले सवल बनाउने, त्यसलाई जन–आधारित बनाउने, प्रशिक्षित कार्यकर्ता पंक्ति परिचालित गरी समाजको रुपान्तरण गर्ने र रुपान्तरणलाई दिगो बनाई परिवर्तनको फल जनतामा न्यायोचित वितरण गर्नेमा उहाँ स्पष्ट हुनुहुनथ्यो । जननेता मदन भण्डारी परिवर्तनको आन्दोलन र परिवर्तपछि हुने नेकपाको भूमिकाका बारेमा पनि स्पष्ट हुनुहुन्थ्यो।

“संघर्षको मैदानमा रहँदा जनताका मुद्धालाई उजागर गर्दै उनीहरुलाई गोलबन्द गर्दै अघि बढ्नु पर्छ । सत्तामा रहँदा तिनै मुद्दालाई कार्यान्वयन गर्न सरकार सक्रिय हुनुपर्छ । सरकारले जनहितका काम गर्दा अवाञ्छित तथा प्रतिक्रियावादी तत्वबाट हुने अबरोध र वितण्डाको विरोध र भण्डाफोर गरी आफ्नो सरकारको प्रतिरक्षा गर्नुपर्छ । तर त्यो प्रतिरक्षा, राज्यसत्ताको दुरूपयोग वा जोर-जवरजस्तीबाट हैन, पार्टी कार्यकर्ता तथा सचेत जनसमुदायको परिचालनबाट गरिनु पर्छ । आज हामी पार्टी एकताको बर्षगॉठ पनि मनाई रहँदा जननेता भण्डारीका विचारलाई आत्मसात गर्न सकौं ।

भावपूर्ण श्रद्धांजली कमरेड मदन भण्डारी!
भावपूर्ण श्रद्धांजली कमरेड जीवराज आश्रित !!

(रिमाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकार हुनुहुन्छ ।)

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार ०९:५४