६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

नियमित स्वास्थ्य सेवा अवरुद्ध भए नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुन सक्छः युनिसेफ

३१ वैशाख , काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले कोभिड–१९ को महामारीका कारण नियमित स्वास्थ्य सेवा अवरुद्ध भइरहे नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ । युनिसेफले ‘द ल्याण्डसेट ग्लोबल हेल्थ’ मा हालै प्रकाशित जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य शिक्षालयका शोधकर्ताले गरेको अध्ययनलाई उल्लेख गर्दै नेपालमा आगामी ६ महिनासम्म प्रतिमहिना थप ६७० जनासम्म बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको हो ।

पहिल्यै कमजोर अवस्थामा रहेका स्वास्थ्य प्रणालीलाई कोभिड–१९ ले ध्वस्त पारेको हालको अवस्थामा रोकथाम गर्न तत्काल पहल गर्न नसकिए विभिन्न रोगबाट दक्षिण एशियामा प्रतिदिन थप दुई हजार ४०० बालबालिकाको मुत्यु हुन सक्ने चेतावनी दिइएको छ ।

प्रक्षेपणले नियमित स्वास्थ्य सेवामा आएको अवरोध र ख्याउटेपनका कारण बालबालिकामा त्यस प्रकारको असर पर्ने जनाइएको छ । युनिसेफका दक्षिण एबियाका क्षेत्रीय स्वास्थ्य सल्लाहकार डा पल रटरले कोभिड–१९ को समयमा पनि सुत्केरी सेवा, बाल स्वास्थ्य तथा पोषण सेवाको उपलब्धता सुनिश्चित गर्नु अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १६:२८