३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

मोदीको भ्रमणपछि मुक्तिनाथ जाने पर्यटक संख्यामा वृद्धिः अध्यक्ष पाण्डे

६ जेठ, काठमाडाैँ ।  नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि मुक्तिनाथ जाने पर्यटकको संख्या बढेको जनाएको छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेले दैनिकीसँग कुरागर्दै मुक्तिनाथमा पर्यटकको चाप बढेकाे बताए । अध्यक्ष पाण्डेका अनुसार प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय रहेका छन् । उनले मुस्ताङ घुम्नेमा नेपालीपछि भारतीय पर्यटक बढी रहेको बताए ।

मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको प्राकृतिक सुन्दरताले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथको प्रसिद्धि चुलिएको छ । मुस्ताङ र मनाङ जोड्ने चर्चित ‘थोरङ्ला पास’ जाने पर्यटक पनि मुक्तिनाथ भएर जाने गर्छन् ।

मुक्तिनाथ हिन्दू मात्र नभएर बौद्ध धर्मावलम्बीको पनि तीर्थस्थलका रुपमा परिचित छ । मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा (छुमिङ ग्यास्ता) अर्थात् सय पानीका रुपमा लिने गर्छन् । समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर शालिग्राम भगवान्का कारण पनि प्रसिद्ध छ ।

मुक्तिक्षेत्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शिला शालिग्रामलाई विष्णु भगवान्को प्रतीकका रुपमा पुज्ने चलन छ । मनोकांक्षा पूरा हुनाका साथै पितृ उद्धारको विश्वासमा तीर्थयात्री मुक्तिनाथ जाने गरेका छन ।

सन् २०१८ जनवरीदेखि गत अप्रिलसम्म आठ हजार ५५६ भारतीय पर्यटक मुक्तिनाथ पुगेका छन् जुन सोही अवधिमा मुक्तिनाथ घुम्ने विदेशी पर्यटकको आधा बढी संख्या हो । गत पाँच महिनामा १६ हजार ९८४ विदेशी पर्यटकले मुक्तिनाथ भ्रमण गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित सूचना केन्द्रका अनुसार गत अप्रिल महिनामा मात्र नौ हजार १०५ विदेशी पर्यटक मुक्तिनाथ पुगेका थिए । तीमध्ये भारतीय पर्यटकको संख्या चार हजार ५३७ रहेको छ । एक्यापको आँकडानुसार मुक्तिनाथ घुम्ने भारतीय पर्यटकको संख्या वर्षेनी बढेको देखिन्छ । सन् २०१७ मा मुस्ताङ भित्रने भारतीय पर्यटकको संख्या २४ हजार ८८८ थियो । पछिल्लो सात वर्षमा करीब सवा लाख भारतीय तीर्थयात्रीले मुक्तिनाथ दर्शन गरेको पाइएको छ । भूकम्प गएको वर्ष सन् २०१५ मा भने सबैभन्दा थोरै आठ हजार ४५९ भारतीय पर्यटकले मुक्तिनाथको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १५:४७