३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

लाङटाङ म्याराथन सम्पन्नः पुरुषतर्फ खगेन्द्र भाट र महिलातर्फ निरकला कुलुङ प्रथम (फोटोफिचर)

–दुर्गा पुडासैनी
५ जेठ, रसुवा । तेस्रो अन्तर्राष्ट्रिय टान लाङटाङ म्याराथनको प्रथम उपाधि पुरुषतर्फ खगेन्द्र भाट र महिलातर्फ निरकला गुरुङले प्राप्त गरेकी छिन । रसुवामा अवस्थित लाङटाङ हिमालको काख क्यान्जिन गुम्बाबाट स्वाफ्रुवेसी बजारसम्मको ४२.१९ किलोमिटरमा भएको म्याराथनमा ५ जना विदेशी र ९५ जना नेपाली धावकहरुले सहभागिता जनाएका थिए । जसमा १५ जना महिलाहरु सहभागी थिए । म्याराथनमा पुरुषतर्फ खगेन्द्र भाट ३ घण्टा ३९ मिनेट २७ सकेन्डमा ४२.१९ किलोमिटर दूरी पार गर्दै प्रथम, भरत खत्रीले ४ घण्टा ७ मिनेट १८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र सुवास कार्की ४ घण्टा ७ मिनेट २८ सकेण्डमा निर्धारित दूरी पारगर्दै तेस्रो भएको प्रतियोगिताको संयोजक ऋतु ग्याम्दान तमाङले जानकारी दिइन ।

त्यस्तै महिलातर्फ निरकला कुलुङ राई ४ घण्टा ५७ मिनेट १३ सकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम, पूर्णमाया राई ५ घण्टा २७ मिनेट १९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र सरिता वंशी ५ घण्टा ५२ मिनेट ५० सकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भएको टानका मिडिया संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई महिला र पुरुष दुवैतर्फका लागि क्रमशः एक लाख पाँच हजार, ७८ हजार ७५० र ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रसहित पुरस्कृत गरिएको टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले जानकारी दिए ।

म्याराथनको समापन कार्यक्रमको सभापतित्व र पुरस्कार वितरण गर्दै गर्दै टानका प्रथम उपाध्यक्ष जीवन थापामगरले लाङटाङ सुरक्षित छ भन्ने सन्देश दिन सफल भएको बताए । उनले भने ‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मुला नाराका साथ आयोजित म्याराथन सफलमात्र भएको छैन, लाङटाङमा पुरानै अवस्थामा पर्यटकको आवागमन गराउनका लागि पनि महत्वपूर्ण सन्देश प्रवाह गराउन सकिएको छ ।’ उपाध्यक्ष थापामगरले पदयात्राको गन्तव्य लाङटाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटन भित्याउन टानले आगामी दिनमा पनि प्रवद्र्धनात्मक कार्यक्रमको आयोजना गर्ने बताए । पुरस्कार वितरणमा रसुवाका प्रतिनिधिसभा सदस्य इ. मोहन आचायलाई प्रमुख अतिथि बनइएको थियो ।

यसअघि शनिबार बिहान लाङटाङको क्यान्जिन गुम्बामा आयोजित समारोहमा म्याराथनको उद्घाटन गर्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउन सरकार व्यवसायमैत्री भएर काम गर्ने बताए । उनले पर्यटनका लागि पूर्वाधार निर्माणमा सरकार क्रियाशिल भएको पनि बताए ।

समारोहमा विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी सदस्य सूर्य थापाले भूकम्पले ध्वस्त भएको लाङटाङ पुनर्जिवित भएकोमा खुशी व्यक्त गर्दै स्थानीय आवश्यकता र मागलाई पनि ध्यान दिनुपर्ने बताए । थापाले लाङटाङ आसपासमा सञ्चार सम्पर्कमा कठिनाई रहेको गुनासो गर्दै आए पनि सम्बोधन हुने नसकेको भन्दै तत्कालै सम्बोधन गर्ने दिशामा पहल गरिदिन मन्त्री अधिकारीको ध्यानाकर्षण गराए । उनले पर्यटन उद्योगकै माध्यमबाट देशमा आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएको भन्दै पर्यटकीय क्षेत्रका स्थानीय बासिन्दा र व्यवसायीको सकारात्मक सहयोग हुँदा सफल हुने बताए ।

म्याराथन आज विहान क्याङजिङ गुम्बादेखि सुरु भई घोडातबेला, शेर्पा गाउँ, खाम्जिङ हुँदै स्याफ्रुबेशीमा आई समापन भएको थियो । प्रतियोगितामा सहभागी रसुवाबासीका लागि निशुल्क, विदेशीका लागि ७५ अमेरिकी डलर र जिल्ला बाहिरका लागि २ हजार ५ सय रुपैयाँ शुल्क उठाइएको थियो । प्रतियोगितामा झण्डै १७ लाख खर्च भएको आयोजकले जनाएको छ । म्याराथनको सुरु र समापनमा स्थानीयले खुशीसाथ अतिथिहरुको स्वागत गरेका थिए ।

       

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार १९:३६