१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा थपिने ४० सदस्यकाे सूची तयार (नामसहित)

५ जेठ, काठमाडौँ । नव गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया अघि बढेको छ । विघटीत एमालेका तर्फबाट थपिने केन्द्रीय सदस्यको नाम तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलले तयार पारिसकेका छन ।

थपिने केन्द्रीय सदस्यको विगत, योगदान, योग्यता एवं क्षमताको विश्लेषण गर्दै नाम तय गरिएको बताइएको छ । थपिने केन्द्रीय नेताको सूचिमा ओलीका विश्वासपात्र कास्कीका खगराज अधिकारी, विगतमा युथफोर्सको कमाण्ड सम्हालेर चर्चामा आएका भक्तपुरका महेश बस्नेत, सूचना तथा सञ्चार राज्यमन्त्री समेत रहेका ओलीका विश्वास पात्र गोकुल वास्कोटा, कठिन परिस्थितिमा पनि दुई पटक निर्वाचित भएर राम्रो अवसर नपाएका झापाका दीपक कार्की, पाँचथरका बसन्त नेम्वाङ रहेका छन् ।

त्यस्तै, विगत नवौ महाधिवेशनताका कोशी अञ्चलमा ओलीलाई ढाडस दिने संखुवासभाका राजेन्द्र गौतम, मोरङका विनोद ढकाल र घनश्याम खतिवडा तथा तराई मधेशमा स्थानीय जनप्रतिनिधिका रुपमा विजय भएका पहाडी मूलका एकमात्र हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई र प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष गगन  विष्ट पनि केन्द्रीय सदस्यको सम्भावित सूचिमा परेका छन् ।

त्यस्तै, पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, रामेछापका कैलाश ढुंगेल, चितवनका देवी ज्ञवाली र जेएन थपलिया, मकवानपुरका रामेश्वर राना, उपत्यकाका रामेश्वर फुँयाल पनि केन्द्रीय सदस्यको सूचीमा अटाएका छन् । सूचीमा तत्काली नेकपा एमालेकाे पर्यटन प्रवर्द्धन विभागका सचिव, टानका पूर्व अध्यक्ष धादिङका चन्द्र रिजालको नाम पनि परेको छ ।

सम्भावित केन्द्रीय सदस्यको सूचिमा नुवाकोटका केशव पाण्डे, धादिका जगन्नाथ नेपाल, मुगुका गोपाल बम, तनहुँका टुकराज सिग्देल, कास्कीका चर्चित नेता कृष्ण थापा, वाग्लुङका नेता तथा युवासंघका पूर्व उपाध्यक्ष हिरा केसी, स्याङ्जाका अनेरास्ववियुका पूर्व अध्यक्ष किशोरविक्रम मल्ल रहेका छन ।

यस्तै विगत नवौ महाधिवेशनमा एक मतको अन्तरले पराजित भएका अखिलका पूर्व उपाध्यक्ष सोभियत ढकाल, बुटवलका नेत्र पन्थी, कपिलवस्तुका बलराम अधिकारी, दाङका नरुलाल चौधरी, युवासंघका पूर्व महासचिव निरज आचार्य, सुर्खेतका मोहनमाया ढकाल, बैतडीका दामोदर भण्डारी, कञ्चनपुरका राजेन्द्रसिंह रावल, कैलालीका नारदमूनी रानाको नाम रहेका छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार १४:०२