७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, कोरोनाका कारण बेलायतमा मात्रै ३५ नेपालीको निधन


– कृष्णप्रसाद शर्मा

२३ वैशाख, लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिनुभयो ।

फाइल तस्वीर

पर्वत चारभञ्याङमा जन्मनुभएका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती हुनुभएको थियो । पछि बीचैमा जागिर छाडेर नेपाल फर्कनुभएको थियो । उहाँले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गर्नुभएको थियो ।

बेलायतमा असल समाजसेवीका रूपमा चिनिनुभएका गुरुङले थुप्रै सामाजिक काम गर्नुभएको थियो । उहाँकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्नुहुन्छ । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आइरहनुभएको थियो । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ०९:१५