१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एनआइसी बैंकले २ प्रतिशत ब्याज छुटसँगै ऋणीलाई थप १० प्रतिशत सहुलियत दिने

२२ वैशाख, काठमाडाैँ । एनआइसी एसिया बैंकले ऋणीलाई राष्ट्र बैंकले दिएको निर्देशनअनुसार २ प्रतिशत व्याज सहुलियतका साथै १० प्रतिशत व्याज छुट दिने भएको छ।

आगामी असार मसान्तमा बुझाउने किस्तामा चैतमा बुझाएकोभन्दा २ प्रतिशत कम व्याजदर गणना गर्न राष्ट्र बैंकले यसअघि निर्देशन दिएको थियो। यस्तो सहुलियत लकडाउनका कारण प्रभावित ऋणीले मात्रै पाउने छन्।

खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास, सोप एण्ड केमिकल्स तथा औषधि बिक्री वितरणसँग सम्वन्धित उद्योग व्यवसाय, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाले भने यस्तो सहुलियत पाउँदैनन्।

साथै वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज/किस्ता सो समयमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट दिने र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत छुट दिनेगरी योजना ल्याएको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए। यो योजना भने सबैका लागि लागू हुने बैंकले जनाएको छ।

‘उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले यस विषम परिस्थितिमा समेत समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पुर्‍याउने मनसायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै थप सहुलियत प्रदानलाई प्रथामिकताको रुपमा लिएको छ’ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि राष्ट्र बैंकको गत चैत १६ गतेको निर्देशन पालना गर्दै चैत मसान्तसम्ममा भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता सो समयमा भुक्तानी गरेका ऋणीलाई साधारण व्याजको १० प्रतिशत छुट दिएको बैंकले जनाएको छ।

वैशाख महिनाको हकमा ऋणीहरुको चैत मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने साधारण ब्याजमा १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका लगायत सम्पूर्ण कर्जामा लागू हुनेछ।

यद्यपी आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन। सहुलियतका कारण ऋणीहरुको ब्याजदर चैत मसान्तको आधार दरभन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको जनाएको छ।

बैंकका अनुसार यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ।

बैंकले सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान भइरहेको जनाएको छ।

‘कोरोनासँगको लडाइँ, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायत विद्युतीय माध्यमबाट ग्राहकले घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ।

घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ। बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन्।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एसियाका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस एनआइसी एसियाका कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ।

यस विषम परिस्थितिमा ग्राहकलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा कुनै जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबाट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

हाल बैंकका देशभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग इकाई संचालनमा छन्।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १५:५६